ओली हटे एमाले–माओवादी एकताको सम्भावना खुला : प्रचण्ड


ओली हटे एमाले–माओवादी एकताको सम्भावना खुला : प्रचण्ड
  • नवकिरण
  • आश्विन २९, २०८२

धादिङ, असोज २९ – नेकपा (माओवादी केन्द्र) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग एकता सम्भावना खुला रहेको बताएका छन्। तर उनले स्पष्ट गर्दै भने — “केपी शर्मा ओली नेतृत्वमा रहेसम्म एमालेसँग एकता सम्भव छैन।”

धादिङको बेनिघाट रोराङमा आयोजित भेटघाट कार्यक्रममा प्रचण्डले युवा तथा पार्टी कार्यकर्ताहरूसँग कुराकानी गर्दै भने, “ओलीको नेतृत्व समाप्त भए एमालेसँग पनि नयाँ सम्भावना खोल्न सकिन्छ।”

उनले माओवादी केन्द्र अब आगामी निर्वाचनलाई मुख्य एजेन्डा बनाएर अघि बढ्ने बताउँदै भने, “अब हाम्रो पार्टीको मुख्य लाइन चुनाव हो।”

त्यसैगरी, तिहारपछि समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता प्रक्रियालाई अघि बढाउने तयारी भइरहेको पनि उनले जानकारी दिए।

कार्यक्रममा सहभागी युवाहरूसँग संवाद गर्दै प्रचण्डले पछिल्लो समय नयाँ पुस्ता माओवादीको विचार र मार्गप्रति सकारात्मक बनेको दाबी गरे। “अहिले म जेनेरेसन जेडका युवाहरूसँग पनि निरन्तर संवादमा छु। उनीहरूले माओवादीको बाटो सहि रहेछ भन्ने बुझ्न थालेका छन्,” उनले भने।

उनका अनुसार माओवादी केन्द्रले युवाको विश्वास जित्दै देशको राजनीतिक स्थायित्वका लागि नयाँ अध्याय सुरु गर्ने लक्ष्य लिएको छ।