गृहमन्त्रीको आरोपको जवाफमा दीपक खड्काको प्रतिवाद : ‘म यही छु’


गृहमन्त्रीको आरोपको जवाफमा दीपक खड्काको प्रतिवाद : ‘म यही छु’
  • नवकिरण
  • कार्तिक ३, २०८२

काठमाडौं, कात्तिक ३ – गृहमन्त्री ओमप्रकाश अर्यालले देश छोडेर भागेको दाबी गरेको एक दिनमै नेपाली कांग्रेसका नेता तथा पूर्वऊर्जामन्त्री दीपक खड्का आफ्नै जलेको घरबाट सार्वजनिक भएका छन्।

जेनजी आन्दोलनका क्रममा आगजनीमा परेको काठमाडौंस्थित आफ्नो निवासबाट भिडियोमार्फत खड्काले आफू देशभित्रै रहेको स्पष्ट पारेका हुन्।

यसअघि गृहमन्त्री अर्यालले नयाँ पत्रिका दैनिकसँगको अन्तर्वार्तामा “तत्कालीन ऊर्जामन्त्री भागिसकेका छन्” भन्दै खड्कामाथि विदेश भागेको आरोप लगाएका थिए। उनले ठूला नेतामाथि छानबिन सुरु भएको र केही भाग्ने प्रयास भइरहेको पनि बताएका थिए।

तर खड्काले सार्वजनिक भिडियो सन्देशमार्फत उक्त दाबी खारेज गर्दै भनेका छन्, “म देशमै छु, मेरो घर जलेको छ तर म भागेको छैन।”

खड्का सार्वजनिक भएपछि राजनीतिक वृत्तमा गृहमन्त्रीको दाबीबारे प्रश्न उठ्न थालेका छन्।