मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा


मोडल आँचल नाथको मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा
  • नवकिरण
  • कार्तिक ३, २०८२

काठमाडौं, कात्तिक ३ – मोडल तथा टिकटकर आँचल नाथ (कल्पना कुमारी नाथ) को मृत्यु प्रकरणमा पाँच जनाविरुद्ध आत्महत्या दुरुत्साहनको आरोपमा मुद्दा दायर गरिएको छ।

प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेको हो।

मुद्दामा दैलेखका सन्जु विक (२६ वर्ष), रुकुम चौरजहारीकी उर्मिला विक उर्फ अनु, सिन्धुपाल्चोककी सरस्वती भण्डारी उर्फ सरु (२६ वर्ष), र कैलाली गौरीगंगा गाउँपालिका–१ की राजेश बुढा (२२ वर्ष) र लक्ष्मी बुढा (२२ वर्ष) प्रतिवादी रहेका छन्।

उनीहरूमध्ये सञ्जु विक पक्राउ परेका छन् भने बाँकी चार जना फरार छन्। पाँचैजनामाथि आत्महत्या दुरुत्साहनको कसुरमा पाँच वर्षसम्मको कैद सजायको माग गरिएको छ।

२१ वर्षीया आँचल नाथ पछिल्लो दुई वर्षदेखि भक्तपुरको थिमिमा डेरा लिएर बस्दै आएकी थिइन्। उनी र प्रतिवादीहरूबीच टिकटकमार्फत चिनजान र पछिल्लो समयमा विवाद भएको खुलेको छ।

टिकटक लाइभमा विवाद बढ्दै गएपछि धम्कीसमेत पाएको दाबी नाथका काकाले गरेका थिए। ९ असोजमा सञ्जु विकसँगको भेटका क्रममा पनि ज्यान मार्ने धम्की आएको भन्दै उनले प्रहरीमा जाहेरी दर्ता गराएका थिए।

त्यसै दिन नाथ आफ्नै कोठामा जलेको अवस्थामा भेटिएकी थिइन्। तत्काल उद्धार गरी सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका लागि लगिएको भए पनि दुई दिनपछि, असोज ११ गते, उनको मृत्यु भएको थियो।

प्रहरी अनुसन्धानमा नाथले पेट्रोल छर्केर आफैंले आगो लगाएको पुष्टि भएपछि, धम्की र मानसिक दबाबका कारण उनलाई आत्महत्या गर्न दुरुत्साहन गरिएको निष्कर्ष निकालिएको थियो। त्यसकै आधारमा अहिले पाँच जनाविरुद्ध मुद्दा दर्ता गरिएको हो।