कांग्रेसका महामन्त्रीहरूको निर्देशन : छठपछि मतदाता नामावली दर्ता अभियान तीव्र बनाउन आह्वान


कांग्रेसका महामन्त्रीहरूको निर्देशन : छठपछि मतदाता नामावली दर्ता अभियान तीव्र बनाउन आह्वान
  • नवकिरण
  • कार्तिक ७, २०८२

काठमाडौं, कार्तिक ७ – नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले छठ पर्व सकिएलगत्तै देशभर मतदाता नामावली दर्ता अभियानलाई सक्रिय रूपमा अघि बढाउन पार्टी संरचनालाई निर्देशन दिएका छन्।

निर्वाचन आयोगले आगामी ३० कात्तिकसम्म नयाँ मतदाता दर्ताको समयसीमा तोकेको छ। उक्त समयसीमाभित्र सकेसम्म धेरै नयाँ मतदाता सूचीकृत गर्न कांग्रेसले प्रदेशदेखि वडा तहसम्मका सबै संरचनालाई सक्रिय रहन आग्रह गरेको हो।

दुवै महामन्त्रीले संयुक्त रूपमा पठाएको परिपत्रमा पार्टीका जिल्ला, प्रदेश र वडा समितिहरूले बैठक गरेर दर्ता अभियानमा ध्यान केन्द्रित गर्न भनिएको छ। साथै, उमेर पुगेका युवाहरुलाई मतदाता सूचीमा नाम दर्ता गर्न प्रोत्साहित गर्ने कार्यलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।

परिपत्रमा युवा उमेर समूहसँग विशेष छलफल गरी उनीहरूकै अगुवाइमा मतदाता दर्ता सहजीकरण टिम गठन गर्ने सिफारिस गरिएको छ।

कांग्रेस नेतृत्वले आगामी निर्वाचनलाई लक्षित गर्दै मतदाता सूची अद्यावधिक अभियानलाई संगठन सुदृढीकरणसँग जोड्ने रणनीति बनाएको बताइएको छ।