काठमाडौँ, कार्तिक ९ – मेडिकल व्यवसायी तथा राजसंस्थाको पक्षमा सक्रिय दुर्गा प्रसाईंले आफू सुधारोन्मुख रहेको बताएका छन्। उनले देशका लागि आवश्यक परे देश छाड्न पनि तयार रहेको बताएका हुन्।
आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईंले भने, “यदि तपाईंहरूले भन्नुभयो– दुर्गा तँ देश छोडेर जा, तेरो कारणले सबै बिग्रियो, भने पनि म तयार छु। म जान्छु। मलाई लोभ छैन, केही चाहिँदैन।”
उनले राजनीतिक यात्राको स्मरण गर्दै भने, “२०५७ सालमा म माओवादी पार्टीसँग थिएँ, पछि एमाले हुँदै अहिले यहाँसम्म आइपुगेँ। बीचमा जे भयो– भयो, अब सुध्रिनुपर्ने बेला आएको छ।”
नेपाल अहिले संकटमा रहेको उल्लेख गर्दै प्रसाईंले भने, “अब देशलाई भुंग्रोमा जान नदिऔं, सबैले मिलेर उठाऔं। मान्छेले न्यानोपन खोजिरहेको छ, त्यसका लागि हामीले पनि आफूलाई बदल्नैपर्छ।”
प्रसाईंले मुख्यधारका मिडियाले आफूलाई कहिल्यै सकारात्मक रूपमा नदेखाएको गुनासो पनि गरे। “मेनस्ट्रीम मिडियाले मेरो राम्रो कहिल्यै लेखेन, सधैं नराम्रो मात्रै लेख्यो,” उनले पत्रकारहरू सामु भने।
गत चैत १५ गते काठमाडौंको तिनकुनेमा उनले राजसंस्थाको समर्थनमा आयोजना गरेको प्रदर्शन हिंसात्मक बनेको थियो। सो क्रममा उनी भारत भागेका थिए। प्रहरीद्वारा पक्राउ परेपछि उनलाई अदालतले थुनामा पठाएको थियो भने उच्च अदालतको आदेशपछि रिहा गरिएको थियो।
हाल प्रसाईंले कात्तिक १५ पछि पुनः प्रदर्शन गर्ने घोषणा गरेका छन्। यद्यपि, गृह मन्त्रालयले उनलाई प्रदर्शन नगर्न आग्रह गर्दै वार्ताका लागि बोलाएको छ। वार्ताको निम्तोबारे बोल्दै प्रसाईंले भने, “सरकारले जनताको आवाज सुन्ने प्रयास गरेकोमा स्वागत गर्छु।”
