विवादित व्यक्ति खगेन्द्र सुनार मन्त्री बन्ने तयारीमा, अतीतका मुद्दा फेरि चर्चामा


विवादित व्यक्ति खगेन्द्र सुनार मन्त्री बन्ने तयारीमा, अतीतका मुद्दा फेरि चर्चामा
  • नवकिरण
  • कार्तिक ९, २०८२

काठमाडौँ, कार्तिक ९ – प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तारका क्रममा खगेन्द्र सुनारलाई मन्त्री बनाउन लागेकी खबर सार्वजनिक भएपछि उनको अतीत पुनः चर्चामा आएको छ। सुनारविरुद्ध विभिन्न अदालतहरूले पक्राउ पुर्जी जारी गरेको र उनी विवादास्पद गतिविधिमा संलग्न रहेको आरोप लाग्दै आएको छ।

दैलेख निवासी सुनार नेपाली कांग्रेसका महासमिति सदस्य हुन्। उनीविरुद्ध सुर्खेत जिल्ला अदालतले २०८१ साल असार २१ गते स्वास्थ्य संस्था तोडफोड र स्वास्थ्यकर्मीमाथि हातपात गरेको मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटाको जाहेरीका आधारमा अदालतले उनलाई सात दिनभित्र उपस्थित गराउन प्रहरीलाई निर्देशन दिएको थियो।

त्यस्तै, काभ्रे जिल्ला अदालतले पनि विद्युतीय कारोबार ऐन अन्तर्गत अर्को मुद्दामा सुनारविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। प्रहरी स्रोतका अनुसार यी दुवै मुद्दा हालसम्म फर्स्यौट भएका छैनन् र उनी फरार अभियुक्तको सूचीमा छन्।

खगेन्द्र सुनार दलित अधिकारका पक्षमा सक्रिय अभियन्ता पनि रहँदै आएका छन्। उनले काठमाडौंमा नङमा नेल ठोकेर गरेको प्रदर्शनले मिडियामा व्यापक ध्यान पाएको थियो। रुकुम पश्चिममा जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको घटनापछि उनले प्रशासनिक कार्यालयको गेटमै भोकै बसेर आन्दोलनसमेत गरेका थिए।

तर, सोही घटनासम्बन्धी फैसलापछि उनले न्यायालयविरुद्ध टिप्पणी गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए। उच्च अदालत सुर्खेतको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले न्यायाधीशविरुद्ध प्रदर्शन गरेका थिए। यसै विषयमा अधिवक्ता मनिषा गौतमले उनीविरुद्ध अदालतको अवहेलनाको मुद्दा दायर गरेकी थिइन्।

मुद्दा दायर भएपछि सुनारले आफ्नो फेसबुकमा गौतमविरुद्ध अपशब्द लेख्दै उनको तस्बिर र फोन नम्बर सार्वजनिक गरेका थिए। उनले फेसबुकमा लेखेका केही स्टाटस अहिले पुनः भाइरल बनेका छन्।