काठमाडौँ, कार्तिक १० – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले दल दर्ता प्रक्रिया सुरु गरेको ३ हप्तामा मात्र दुई दलले आफ्नो विवरण अद्यावधिक गराएका छन्। आयोगको तथ्यांकअनुसार राष्ट्रिय जनमुक्ति पार्टी र जनस्वराज पार्टीले दर्ता प्रक्रिया पूरा गरिसकेका छन्।
राष्ट्रिय जनमुक्ति पार्टीका अध्यक्ष केशवबहादुर थापा र जनस्वराज पार्टीका अध्यक्ष दीपक कुमार साह रहेका छन्। यी दुई दलले क्रमशः असोज २४ र असोज २८ गते दर्ता अद्यावधिक गरेका हुन्।
निर्वाचन आयोगले आगामी निर्वाचनमा सहभागी हुन चाहने राजनीतिक दलहरूलाई मंसिर १ देखि १० गतेसम्म दल दर्ता गर्ने समय दिएको छ। कानुनअनुसार, आयोगमा दर्ता कायम रहेका दलहरूले मात्रै निर्वाचन प्रयोजनका लागि दर्ता नवीकरण गर्न पाउनेछन्। त्यसैले कात्तिक ३० गतेभित्र दलहरूले दर्ता प्रमाणपत्र लिनुपर्ने आयोगले जनाएको छ।
हालसम्म आयोगमा १२४ राजनीतिक दल दर्ता अद्यावधिक भइसकेका छन्। आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार निर्वाचन घोषणापछि ६ नयाँ दलले दर्ता निवेदन दिएका छन्। ती दलहरूमा हर्क साम्पाङ राई नेतृत्वको श्रम संस्कृति पार्टी, नेपाल नागरिक पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, राष्ट्रिय परिवर्तन पार्टी, नेपाल लिभरल पार्टी, र राष्ट्रिय जेनजी पार्टी रहेका छन्।
प्रवक्ता भट्टराईका अनुसार, यीमध्ये श्रम संस्कृति, नेपाल नागरिक, गतिशील लोकतान्त्रिक र राष्ट्रिय परिवर्तन पार्टी दर्ता प्रक्रियामा छन्। तर, नेपाल लिभरल पार्टीले आवश्यक विवरण पेश गर्न बाँकी छ भने राष्ट्रिय जेनजी पार्टीले विधानलगायतका कागजात फाइलमा टिपोट मात्र गरेको आयोगले जनाएको छ।
यसअघि, पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले जेनजी आन्दोलनको बलमा बनेको सरकारमार्फत भदौ २७ गते प्रतिनिधिसभा विघटन गरी निर्वाचन मिति घोषणा गरेको थियो।
