झापा, कात्तिक १५ – कात्तिक ९ गतेदेखि बेपत्ता भएका शिवसताक्षी नगरपालिका–१० माईधारका ३३ वर्षीय सरोज शर्माको हत्या गरिएको अवस्थामा शव फेला परेको छ । शर्मा आईटी व्यवसायमा संलग्न रहेका थिए र दसैँ–तिहार मनाउन गृहजिल्ला आएका थिए ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार शनिबार बिहान झापा गाउँपालिका–५ मा पर्ने हुलाकी सडकअन्तर्गतको विरिङ खोलाको पुलमुनि शर्माको शव गाडिएको अवस्थामा फेला परेको हो । शवमाथि टिनले छोपिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।
शर्मा बेपत्ता भएको केही दिनपछि बिहीबार मेचीनगर–१३ स्थित हातेमालो सामुदायिक वनभित्र उनको बागमती प्रदेशको नम्बर प्लेट रहेको कार (प्रदेश ०१–०३ च ७१९४) जलेको अवस्थामा भेटिएको थियो । कार भेटिएको स्थान र शव फेला परेको स्थानबीच करिब २० किलोमिटर दूरी रहेको छ ।
प्रहरीले घटनासम्बन्धमा दुईजनालाई पक्राउ गरेको छ भने अन्य व्यक्ति पनि संलग्न हुनसक्ने अनुमान गरिएको छ । पक्राउ परेकामध्ये एकजनाको हात जलिरहेको पाइएको प्रहरीले जनाएको छ, जसले उनी गाडी जलाउने क्रममा घाइते भएको आशंका गरिएको छ ।
डीएसपी खड्काले भने, “अनुसन्धान जारी छ, घटनाका सबै पक्ष स्पष्ट हुन बाँकी छ । हालसम्म प्राप्त सूचनाअनुसार संलग्न व्यक्तिहरु लागुऔषध प्रयोगकर्ता रहेको प्रारम्भिक अनुमान गरिएको छ ।”
स्थानीयवासी भने हत्या प्रकरणप्रति आक्रोशित बनेका छन् । शर्माको शव फेला परेपछि माईधारस्थित एक घर र टेम्पोमा तोडफोड गरिएको छ । प्रहरीले दिएको जानकारीअनुसार पक्राउ परेका आरोपितमध्ये राहुल साहको घरमा तोडफोड गरिएको हो । आक्रोशित भीडले मृतकको शव बोकेको आशंकामा एउटा टेम्पो पनि क्षतिग्रस्त पारेका थिए ।
प्रहरीले घटनाको सम्पूर्ण विवरण र हत्याको कारण पत्ता लगाउन अनुसन्धान तीव्र पारेको जनाएको छ ।
