भट्टराईको सुझाव : “जेनजी पुस्ताले अब निर्वाचनमार्फत देशको नेतृत्व लिनु पर्छ”


भट्टराईको सुझाव : “जेनजी पुस्ताले अब निर्वाचनमार्फत देशको नेतृत्व लिनु पर्छ”
  • नवकिरण
  • कार्तिक १८, २०८२

काठमाडौं, कार्तिक १८ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ पुस्ता, विशेषगरी जेनजी युवाहरूप्रति आह्वान गर्दै देशको नेतृत्व अब उनीहरूले लिनुपर्ने समय आएको बताएका छन्।

उनका अनुसार, विगतका युगान्तकारी र बलिदानीपूर्ण आन्दोलनहरूपछि अब युवाहरूले सडक होइन, निर्वाचनमार्फत परिवर्तन ल्याउने बाटो रोज्नुपर्छ।

उनले देश–विदेशमा रहेका सबै युवाहरूलाई समयमै मतदाता सूचीमा नाम दर्ता गर्न आग्रह गर्दै चेतावनी दिए कि यदि युवाहरूले आफ्नो नाम दर्ता नगरे भने नेपाली राजनीतिमा पुनः पुरानो चक्र दोहोरिने सम्भावना छ।

भट्टराईले नागरिकता प्राप्त गर्ने र मतदान गर्ने उमेर समान राखी १६ वर्षमै भोट हाल्ने अधिकार दिनुपर्ने प्रस्ताव अघि सारेका छन्। साथै, उनले उम्मेदवार बन्ने उमेर सीमा पनि घटाएर २५ वर्षबाट १८ वा २१ वर्ष पुर्याउनुपर्ने सुझाव दिएका छन्।

उनका अनुसार, अहिलेको पुस्ता देशको वास्तविक परिवर्तनकर्ता बन्न सक्षम छ, तर त्यसका लागि उनीहरूले निर्वाचन प्रक्रियामा सक्रिय सहभागिता जनाउन आवश्यक छ। भट्टराईले भने, “जेनजी पुस्ताले पछिल्लो आन्दोलनमा अग्रणी भूमिका खेलेका छन्, अब त्यही उत्साह र प्रतिबद्धता लिएर राजनीतिक नेतृत्वमा प्रवेश गर्नुपर्छ।”