काठमाडौं, कार्तिक १९ – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बुधबार गंगबुस्थित नयाँ बसपार्कमा पुगेर त्यहाँ सञ्चालनमा ल्याइएको नि:शुल्क इन्टरनेट (फ्रि–वाईफाई) सेवाको अवलोकन गरेका छन्।
बसपार्कमा पुगेका मन्त्री खरेलले यात्रु र सर्वसाधारणका लागि उपलब्ध गराइएको इन्टरनेट सेवाको अवस्था र प्रयोग प्रक्रियाबारे जानकारी लिएका हुन्।
मन्त्री खरेलले मन्त्री पद सम्हालेको केही दिनमै ५ महिनाभित्र देशका १० प्रमुख शहरका सार्वजनिक स्थलमा नि:शुल्क इन्टरनेट सेवा सञ्चालन गर्ने निर्णय गरेका थिए।
उनको सचिवालयका अनुसार, सो योजनाअन्तर्गत काठमाडौं बाहेक अन्य ठूला शहरहरूमा पनि इन्टरनेट सेवा सञ्चालन गर्ने तयारी तीव्र गतिमा अघि बढिरहेको छ।
सरकारको यो पहलले सार्वजनिक स्थलमा सहज इन्टरनेट पहुँच उपलब्ध गराउँदै डिजिटल नेपालको लक्ष्य पूरा गर्ने अपेक्षा गरिएको छ।
