जाँचबुझ आयोगद्वारा रवि लामिछानेलाई सोधपुछका लागि सिंहदरबारमा उपस्थित गराइँदै


जाँचबुझ आयोगद्वारा रवि लामिछानेलाई सोधपुछका लागि सिंहदरबारमा उपस्थित गराइँदै
  • नवकिरण
  • कार्तिक १९, २०८२

काठमाडौं, कात्तिक १९ – सहकारी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागारबाट बुधबार सिंहदरबारस्थित उच्चस्तरीय जाँचबुझ आयोगमा सोधपुछका लागि ल्याइँदैछ।

आयोगका प्रमुख गौरीबहादुर कार्कीको नेतृत्वमा गठित टोलीले २४ भदौमा भएको ‘जेनजी आन्दोलन’का क्रममा लामिछाने कारागारबाट बाहिरिएको घटनाबारे विस्तृत सोधपुछ गर्ने तयारी गरेको हो।

नख्खु कारागार स्रोतका अनुसार आयोगको निर्देशनपछि लामिछानेलाई सुरक्षा व्यवस्थासहित बिहानै कारागारबाट सिंहदरबारतर्फ पठाइएको हो। आयोगले सोमबार मात्रै घटनास्थल नख्खु कारागारमा पुगेर तथ्य अध्ययन गरेको थियो।

२४ भदौमा असुरक्षाको कारण देखाउँदै लामिछाने अन्य कैदीसहित अस्थायी रूपमा कारागारबाहिर निस्किएका थिए। तर, कारागार प्रशासनले जारी गरेको भनिएको अनुमति पत्रको वैधता प्रश्नवाचक बनेपछि उनी केही समयपछि पुनः कारागार फर्किएका थिए।

सो घटनाको सत्यतथ्य पत्ता लगाउन गठित आयोगले यसअघि कारागार प्रमुख सत्यराज जोशीसँग पनि बयान लिइसकेको छ। आयोगले आजको सोधपुछपछि आवश्यक विवरण संकलन गरी प्रतिवेदन तयार गर्ने जनाएको छ।