काठमाडौं, कार्तिक २० – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ ।
जेनजी आन्दोलनपछि देशभर चलिरहेका राजनीतिक घटनाक्रमबारे जनस्तरमा पार्टीको धारणा स्पष्ट पार्ने उद्देश्यले नेकपाले प्रदर्शन र आमसभा आयोजना गरेको हो ।
पार्टीले दिउँसो १ बजे भृकुटीमण्डपमा आमसभा गर्ने कार्यक्रम तय गरेको छ, जसलाई महासचिव नेत्रविक्रम चन्द (विप्लव) स्वयंले सम्बोधन गर्ने छन् ।
सभाअघि राजधानीका विभिन्न स्थानबाट र्याली निकालिने तयारी पनि गरिएको नेकपाले जनाएको छ । उक्त कार्यक्रममा काठमाडौं उपत्यका तथा नजिकका जिल्लाबाट करिब १० हजारभन्दा बढी कार्यकर्ता सहभागी हुने पार्टीको दाबी छ ।
स्रोतका अनुसार, कार्यक्रममा पार्टीका वरिष्ठ नेता, केन्द्रीय सदस्य र विभिन्न जनसंगठनका प्रतिनिधिहरूको उपस्थितिसमेत रहनेछ । सुरक्षा निकायले पनि प्रदर्शनलाई लक्षित गर्दै उपत्यकाका विभिन्न स्थानमा सुरक्षा सतर्कता बढाएको छ ।
