काठमाडौँ, कार्तिक २० – सहकारी ठगीसम्बन्धी मुद्दामा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र गोर्खा मिडिया प्रालिका तत्कालीन सञ्चालक छविलाल जोशीको केसमा उच्च अदालत तुलसीपुर, बुटवल इजलासले थप मिसिल माग गर्न आदेश दिएको छ।
न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले जोशीको फाइल अपुग रहेको भन्दै सबै आवश्यक मिसिलहरू झिकाएर दुवै मुद्दा एकैसाथ अध्ययन गर्न निर्देशन दिएको हो।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रवि लामिछानेले आफ्नो भाग बराबरको बिगो रकम बुझाएर थुनामुक्त हुन माग गर्दै निवेदन दिएका थिए। तर रुपन्देही जिल्ला अदालतबाट उक्त माग अस्वीकृत भएपछि उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए।
अभियोगपत्र अनुसार सुप्रिम सहकारीमा १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरिएको छ। यसमध्ये चार भाग बनाइएको बिगोको एक भाग अर्थात् करिब २ करोड ७४ लाख रुपैयाँ रकम रवि र जोशी दुवैले जमानत स्वरूप पेश गरेका छन्। तर, इजलासले “प्रतिवादीहरूको वास्तविक बिगो कति पर्छ भन्ने स्पष्ट नभएकाले अहिले नै थुनामुक्त गर्न सकिँदैन” भन्दै उनीहरूलाई कारागारमै राख्ने निर्णय दोहोर्याएको हो।
हाल रवि लामिछाने नख्खु कारागारमा छन् भने छविलाल जोशी भैरहवा कारागारमै रहेका छन्।
