माग पूरा नभएपछि काठमाडौं आउने मेलम्चीको पानी आपूर्ति अनिश्चित, मुहानमै लगायो स्थानीयले ताल्चा


माग पूरा नभएपछि काठमाडौं आउने मेलम्चीको पानी आपूर्ति अनिश्चित, मुहानमै लगायो स्थानीयले ताल्चा
  • नवकिरण
  • कार्तिक २१, २०८२

काठमाडौँ, कार्तिक २१ – गत वर्षका सम्झौताहरू कार्यान्वयन नभएको भन्दै मेलम्ची बाढी–पीडित र स्थानीय भेण्डरहरूसहितका समूहले मेलम्ची खानेपानी काठमाडौं पठाउने प्रक्रिया रोकिदिएका छन्। उनीहरूले बिहीबार मुहान क्षेत्रमा पानी पथान्तरण गर्दै आएको मुख्य लाइन नै बन्द गरिदिएपछि राजधानीमा मेलम्चीको पानी आपूर्ति पूर्ण रूपमा रोकिएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार विभिन्न सरोकार समितिहरूले तत्कालका माग सम्बोधनहोस् भन्ने चेतावनीसहित मुहान बन्द गरेको जानकारी दिए।

उनका अनुसार, “गत वर्ष खानेपानी मन्त्रालयसँग भएको सम्झौता अझै कार्यान्वयन नभएकै कारण स्थानीयले यसपटक कडा कदम चालेका हुन्। मुहान बन्द भएकाले बिहीबार दिउँसोदेखि काठमाडौंमा मेलम्चीको पानी आएको छैन।”

२०७८ सालको विनाशकारी बाढी–पहिरोबाट प्रभावित स्थानीयहरूको पुनःस्थापना, क्षतिपूर्ति र अन्य माग अझै सम्बोधन नभएको आरोप गर्दै आन्दोलनरत समूहले एक हप्ता अघि राजधानीको पानीपोखरीस्थित मेलम्ची खानेपानी कार्यालयमा तालाबन्दी समेत गरेका थिए।

असारयता रोकिएको मेलम्चीको पानी आपूर्ति असोज २६ गतेबाट मात्र पुनःसञ्चालनमा आएको थियो। तर पुनः आन्दोलन सुरु भएपछि फेरि राजधानीका उपभोक्ता मेलम्चीको नियमित आपूर्तिबाट वञ्चित भएका छन्।

काठमाडौँमा पानीको अभाव बढ्न नदिन समितिसँग संवाद र समाधान खोज्ने प्रक्रिया अगाडि बढाइने विकास समितिका निर्देशक दासले बताएका छन्।