चितवन बैठकमा तोसिमाको अभिव्यक्तिमाथि रोक, डाँगीले उठाइन् प्रश्न


चितवन बैठकमा तोसिमाको अभिव्यक्तिमाथि रोक, डाँगीले उठाइन् प्रश्न
  • नवकिरण
  • कार्तिक २२, २०८२

काठमाडौं, कार्तिक २२ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवन, सौराहामा जारी विस्तारित बैठकमा डा. तोसिमा कार्कीलाई बोल्ने अवसर नदिएको विषयले विवाद सिर्जना गरेको छ। केन्द्रीय सदस्य निशा डाँगीले तोसिमालाई बोल्न रोकिएको भन्दै औपचारिक रूपमा आपत्ति जनाएकी छन्।

बैठकमा कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरिरहेका बेला तोसिमा उठेर बोल्ने अनुमति मागेकी थिइन्। उनको आग्रहपछि महामन्त्री कविन्द्र बुर्लाकोटी उनी बसेको स्थानमै पुगेर विषय सुनेका थिए।

तर बैठकमा उपस्थित कतिपय नेताहरूले तोसिमाले ‘अपरिपक्व शैली’ अपनाएको दाबी गरेका छन्। प्रतिवेदनमाथि भएको समूहगत छलफलमा उनले एक समूहको नेतृत्व गर्दै आफ्ना धारणा राखिसकेको जानकारी सहभागीहरूले दिएका छन्।

तोसिमाले छुट्टै प्रतिवेदन तयार पारेको बताइए पनि अहिलेसम्म बैठकमा पेश भएको छैन। शुक्रबारदेखि सुरु भएको विस्तारित बैठक आज साँझ समापन हुँदैछ।