काठमाडौं, कात्तिक २३ – काठमाडौं महानगरद्वारा सुकुमवासी बस्ती हटाउने तयारी अघि बढिरहेकै बेला दुर्गा प्रसाईंले मेयर बालेन साहलाई लक्षित गर्दै कडा आपत्ति जनाएका छन्।
आइतबार राजधानीको सुकुमवासी क्षेत्रमा पुगेका प्रसाईंले बालेनको अभियान गरिबमाथिको अन्याय भएको टिप्पणी गरे। उनका अनुसार, वर्षौँदेखि बसोबास गर्दै आएका नागरिकलाई अचानक हटाउन खोज्नु असंवेदनशील निर्णय हो।
प्रसाईंले भने, “सुकुमवासी बस्तीले शहर बिगार्छ भनेर भन्नु सजिलो छ। तर तपाईंलाई साँच्चिकै समस्या समाधान गर्ने इच्छा छ भने उनीहरुकै लागि सुरक्षित आवासको व्यवस्था गरिदिनुस्।”
उनले मेयर साहको नेतृत्वमा शहरमा भत्काउने कार्यलाई मात्र प्राथमिकता दिइएको आरोप लगाउँदै भने, “एसी कोठामा बसेर निर्णय गर्नेहरूले गरिबको वास्तविक पीडा बुझ्दैनन्।”
प्रसाईंले महानगरको कार्यशैलीले व्यापार–व्यवसायमा पनि नकारात्मक असर पारेको बताए। उनका अनुसार, “बालेन आएपछि काठमाडौंमा आर्थिक गतिविधि घटेको, धेरै सटर बन्द हुन थालेको” छ।
सुकुमवासी समुदायको मुद्दा समाधान गर्न राजनीतिक दलहरू समेत असफल भएको उल्लेख गर्दै उनले चेतावनी दिए, “बस्ती हटाउन बल प्रयोग गरिएमा प्रतिरोध हुनेछ।”
