रास्वपाको नयाँ मापदण्ड: युवाका लागि २७% र प्रवास फर्किएकाका लागि १०% कोटा


रास्वपाको नयाँ मापदण्ड: युवाका लागि २७% र प्रवास फर्किएकाका लागि १०% कोटा
  • नवकिरण
  • कार्तिक २३, २०८२

काठमाडौं, कात्तिक २३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरू खुला आव्हान गरेको छ।

प्रवक्ता मनिष झाले जानकारी दिँदै भने कि सहमहामन्त्री विपिनकुमार आचार्यले तयार पारेको उम्मेदवार छनोट दिशानिर्देशअनुसार आवेदन मागिएको हो।

रास्वपाले उम्मेदवारका लागि आवश्यक मापदण्ड स्पष्ट गरेको छ। सार्वजनिक पदको दुरुपयोग नगरेको, वैवाहिक अवस्था कानुनी रूपमा वैध भएको, कमजोर समूहमाथि भेदभाव वा अपमानजनक व्यवहार नगरेको, तथा आय–आर्जन पारदर्शी रहेको प्रमाण स्वयं घोषणा गर्नुपर्नेछ।

उम्मेदवार छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउने उद्देश्यले पार्टीले अडिट समिति गठन गर्ने उल्लेख गरेको छ।

रास्वपाले समानुपातिक बन्दसूची तयार गर्न संविधानअनुसारको जातीय क्लस्टरसँगै प्रदेशगत जनसांख्यिक अनुपात र २०७९ को निर्वाचनमा पार्टीले पाएको मतको प्रादेशिक हिस्सा समेत आधार बनाएको छ। यस आधारमा ११० जनाको प्रस्तावित बन्दसूची तयार गरिएको रास्वपाले जनाएको छ। पार्टीका अनुसार यसले प्रदेशस्तरमा प्रतिनिधित्वको सन्तुलन कायम गर्न सहयोग पुर्‍याउनेछ।

युवाहरूको सहभागिता बढाउन ‘जेनजी स्पिरिट’ समेटिएको छ। ४० वर्षसम्मका युवाको जनसंख्यात्मक अनुपातअनुसार समानुपातिक सूचिमा २७ प्रतिशत आरक्षित गरिएको छ। साथै, विदेशबाट फर्किई उम्मेदवारी दिन चाहने नेपालीका लागि १० प्रतिशत प्रतिनिधित्व छुट्याइएको प्रवक्ता झाले बताए।