मधेसमा नाटकीय मोड: प्रदेश प्रमुखले होटलमै गराइन् मुख्यमन्त्रीको शपथ


मधेसमा नाटकीय मोड: प्रदेश प्रमुखले होटलमै गराइन् मुख्यमन्त्रीको शपथ
  • नवकिरण
  • कार्तिक २४, २०८२

जनकपुर, कार्तिक २४ – मधेस प्रदेशको सत्ता परिवर्तन नाटकीय ढंगले अघि बढेको छ। प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सोमबार बिहान नेकपा एमाले संसदीय दलका नेता सरोज यादवलाई प्रदेशको नयाँ मुख्यमन्त्री नियुक्त गर्दै शपथ ग्रहण गराइन्।

शपथ ग्रहण जनकपुरमा नभई सिन्धुलीको एक होटलमा सम्पन्न भएको हो। जनकपुरमा भइरहेको विरोध प्रदर्शनका कारण शपथ स्थान परिवर्तन गरिएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

यादवले पदबहालीपछि प्रतिक्रिया दिँदै भने, “जनकपुरमा अवस्था संवेदनशील थियो, त्यसैले शपथ सुरक्षित स्थानमा गर्नुपर्‍यो। अब प्रदेश स्थिरतामार्फत विकासतर्फ लाग्नेछ।”

यसअघि मुख्यमन्त्री रहेका जितेन्द्र सोनलले विश्वासको मत हराएपछि राजीनामा दिएका थिए। उनले प्रदेश प्रमुख भण्डारी काठमाडौँ स्वास्थ्य उपचारका लागि निस्केको भए पनि बिचमै शपथ गराएको आरोप लगाएका छन्।

सोनलले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिंदै भनेका छन्, “स्वास्थ्य उपचारको बहानामा प्रदेश प्रमुख बाहिरिए पनि बाटोमै नयाँ मुख्यमन्त्रीलाई शपथ गराउनु प्रदेशको मर्यादामाथिको प्रहार हो। जनतासँग धोका भएको छ।”

सरकार परिवर्तनसँगै मधेस प्रदेशको राजनीतिमा नयाँ शक्ति संतुलन र आगामी सत्ता समीकरणको अनुमान बढेको छ।