नक्कली प्रमाणपत्र प्रयोग गरेको अभियोगमा झापाका शिक्षकविरुद्ध अख्तियारको मुद्दा


नक्कली प्रमाणपत्र प्रयोग गरेको अभियोगमा झापाका शिक्षकविरुद्ध अख्तियारको मुद्दा
  • नवकिरण
  • कार्तिक २६, २०८२

काठमाडौं, कात्तिक २६ – झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयका शिक्षक देवी निरौलामाथि नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोप लाग्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ।

आयोगका अनुसार निरौलाले भारतको बिहार संस्कृत शिक्षा बोर्ड, पटनाबाट जारी भएको मध्यमा तह (१० कक्षा) को नक्कली प्रमाणपत्र प्रयोग गरी स्थायी शिक्षकको पद प्राप्त गरेका थिए। उनी २०५५ सालमा अस्थायी शिक्षकका रूपमा नियुक्त भई २०७५ साल चैत २८ गते स्थायी नियुक्ति पाएको आयोगले जनाएको छ।

अख्तियारको अनुसन्धानले निरौलाले झुट्टा प्रमाणपत्रका आधारमा वर्षौँदेखि अध्यापन गर्दै तलब, भत्ता लगायतका सरकारी सुविधा लिइरहेको प्रमाण पाएको छ। यसरी गैरकानुनी रूपमा सरकारी सेवामा रहँदै अनुचित लाभ उठाएको ठहर गर्दै अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १२ र ऐन २०५९ को दफा १६ (१) अनुसारको कसुरमा दोषी ठहर गरेको हो।

यस आधारमा अख्तियारले निरौलामाथि कैद सजाय र जरिवानाको मागसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन्।