मतदाता नामावली दर्ताको समय नथपिने, राष्ट्रिय परिचयपत्र भएकाले बायोमेट्रिक दिन आवश्यक छैन


मतदाता नामावली दर्ताको समय नथपिने, राष्ट्रिय परिचयपत्र भएकाले बायोमेट्रिक दिन आवश्यक छैन
  • नवकिरण
  • कार्तिक २७, २०८२

काठमाडौं, कात्तिक २७ – निर्वाचन आयोगले मतदाता नामावली दर्ताका लागि तोकिएको समय थप नगर्ने निर्णय गरेको छ। आयोगका पदाधिकारीहरूले बुधबार प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर कात्तिक ३० गतेपछि समय बढाउँदा सम्पूर्ण निर्वाचन कार्यतालिका प्रभावित हुने भन्दै समय नथपाउने निर्णयको जानकारी दिएका हुन्।

अब राष्ट्रिय परिचयपत्रका लागि संकलन गरिएको बायोमेट्रिक विवरणबाट पनि मतदाता नामावली सूचीकृत गरिने भएको छ। प्रधानमन्त्री कार्यालयका अनुसार, राष्ट्रिय पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेले राष्ट्रिय परिचयपत्र वितरणका क्रममा संकलित जैविक तथ्यांक निर्वाचन आयोगलाई उपलब्ध गराउन तयारी भइसकेको बताएका छन्।

प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलका अनुसार, “राष्ट्रिय परिचयपत्र नम्बर भएका र कार्यालयमा उपस्थित हुन नसक्ने मतदाताको नामावलीमा दर्ता सहज हुनेछ।”

निर्वाचन आयोगले हालसम्मका तयारीमध्ये ६० प्रतिशतभन्दा बढी कार्य सम्पन्न भएको जानकारी दिँदै आउँदो फागुन २१ गतेभित्र निर्वाचन सम्पन्न गर्न सकिने विश्वास व्यक्त गरेको छ।

आयोगका कार्यवाहक प्रमुख आयुक्त भण्डारीका अनुसार, आयोगमा दर्ता भएका कुनै पनि दलले निर्वाचनमा भाग लिन नसकिने भनाइ दिएको छैन। विगतमा निर्वाचन बहिष्कार गर्ने समूहसमेत अहिले आयोगमा दर्ता भएर चुनावमा भाग लिन इच्छुक देखिएको उनले बताए।

त्यस्तै, आयोगले नयाँ दल दर्ता र मतदाता नामावलीमा नाम समावेश गराउने कार्य उत्साहजनक रहेको जनाएको छ। अहिलेसम्म २२ वटा राष्ट्रिय र २ वटा अन्तर्राष्ट्रिय संस्थाले निर्वाचन पर्यवेक्षणका लागि नाम दर्ता गराइसकेका छन्।

आयोगले निर्वाचन आचारसंहिता मस्यौदा दलहरूलाई सुझावका लागि पठाइसकेको र अब निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने तयारीमा रहेको जनाएको छ। यसअघि दलहरूसँग पुनः छलफल गरी अन्तिम निर्णय लिने योजना रहेको पनि आयोगले स्पष्ट पारेको छ।

प्रधानमन्त्री कार्कीले उम्मेदवारको खर्च घटाउने र मतदाताको सहजताका लागि अन्तरजिल्ला मतदानको सम्भाव्यता अध्ययन गर्न निर्देशन दिएकी छन्।