काठमाडौँ, कार्तिक ३० – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले निर्वाचन गराउने नैतिक तथा संवैधानिक अधिकार नभएको आरोप लगाएका छन्। आइतबार गुण्डुस्थित उनको निवासमा प्रेस चौतारीका पत्रकारहरूसँग कुराकानी गर्दै ओलीले सरकारले संविधान मिचेर काम गरिरहेको दाबी गरे।
ओलीका अनुसार देशभर एकपछि अर्को घटनामा हतियार लुटिने, कैदीबन्दी फरार हुनेजस्ता घटनाले सुरक्षा अवस्था कमजोर बनेको छ, जसले आगामी निर्वाचनको वातावरण नै अविश्वसनीय बनाइदिएको छ। यस्तो परिस्थितिमा निर्वाचन गराउने सरकार आफू नै असंवैधानिक भएको उनको तर्क छ।
एमाले ‘चुनावबाट भाग्ने’ प्रवृत्तिमा कहिल्यै नरहेको बताउँदै ओलीले आफ्नो पार्टी सदैव निर्वाचनमा जान तयार रहेको स्पष्ट पारे। “देशको सबैभन्दा ठूलो र सक्षम दल एमाले हो, हामी चुनावबाट डराउँदैनौँ,” उनले भने।
अध्यक्ष ओलीले राजनीतिक स्थिरता र संवैधानिक मार्गप्रति फर्किन अहिलेको आवश्यकता ‘विघटित प्रतिनिधि सभा पुनःस्थापना’ भएको दाबी गरे। उनले सञ्चारमाध्यमलाई पनि देशहितका विषयमा स्पष्ट धारणा लिन आग्रह गर्दै भने, “मिडियाले देशप्रेम गर्छ भने सम्पादकीयमार्फत् संसद् पुनःस्थापनाको पक्षमा आवाज उठाउनुपर्छ।”
ओलीले वर्तमान सरकारलाई अनुभवहीन, अनधिकृत र जनताको भरोसा गुमाएको सरकारका रूपमा चित्रण गर्दै तत्काल राजनीतिक समाधान खोज्न सबै दल र समाजका क्षेत्रहरू एकजुट हुनुपर्ने सुझाव दिए।
