काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन फेरि अवरुद्ध, २५० टिपर रोकिए


काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन फेरि अवरुद्ध, २५० टिपर रोकिए
  • नवकिरण
  • मंसिर ३, २०८२

काठमाडौँ, मंसिर ३ – बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीय बासिन्दाले अवरोध गरेपछि उपत्यकाको फोहोर विसर्जन पुनः रोकिएको छ। काठमाडौँ महानगरपालिका र उपत्यकाका अन्य पालिकाबाट फोहोर बोक्दै बञ्चरेडाँडा पुगेका करिब २५० टिपर स्थानीयको विरोधका कारण रोकिएका हुन्।

फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेका अनुसार स्थानीयहरूले सवारी चालकहरूलाई फोहोर नल्याउन चेतावनी दिएको भन्दै गाडीहरू बाटोमै रोकिएको हो। उनका अनुसार उपत्यकामा संकलित फोहोर नपुग्दा व्यवस्थापन कार्य पूर्ण रूपमा ठप्प भएको छ।

बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगानाले राज्यले वर्षौंदेखि माग पूरा नगरेको आरोप लगाउँदै बाध्य भएर अवरोध गर्ने निर्णय लिएको बताए। ‘नियमित रूपमा समस्या उठाउँदा पनि सुनुवाइ नभएपछि हामीले यो कदम चाल्नुपरेको हो,’ उनले बताए।

काठमाडौँ महानगरबाट मात्र दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडा पुर्‍याइन्छ। अन्य पालिकाबाट थप ७ सय टन फोहोर आउँछ। कुल १४ सय टन फोहोरको दैनिक व्यवस्थापन अवरुद्ध हुँदा उपत्यकामा फेरि फोहोर थुप्रिने चिन्ता बढेको छ।