बुटवल, मंसिर ४ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा गोर्खा मिडियाका पूर्व सञ्चालक छविलाल जोशीविरुद्ध दायर सहकारी ठगीसम्बन्धी मुद्दा उच्च अदालत बुटवलको ३ नम्बर इजलासमा परेका छन्।
बिहीबार न्यायाधीश मिलनकुमार राई र सानुमाया डङ्गोलको संयुक्त इजलासमा दुवैको मुद्दा पेश भएको उपरजिस्टार यज्ञमूर्ति ज्ञवालीले जानकारी दिए। अदालतले गोलाप्रथामार्फत ३ नम्बर इजलासमा मुद्दा दृष्टान्त तोकेको हो।
यसअघि, उच्च अदालत तुलसीपुर–बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रकाश अर्यालको संयुक्त इजलासले गत हप्तामात्रै जिल्ला अदालत रुपन्देहीबाट मुद्दाको मूल मिसिल झिकाउन आदेश दिएको थियो।
रुपन्देही जिल्लामा चलिरहेको सुप्रिम सहकारी ठगी प्रकरणमा लामिछाने पुर्पक्षका लागि थुनामा छन्। सहकारीमा देखिएको अपचलन अनुसार आफ्नो हिस्साको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाले साउन २६ गते उनलाई रिहा गर्न अस्वीकार गरेका थिए। सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए।
अदालतले पहिले नै लामिछाने र जोशी दुबैको मुद्दा एउटै इजलासमा चलाउन आदेश दिएको थियो। दुवैजना अहिले सहकारी ठगी र संगठित अपराधको अभियोगमा थुनामा छन्।
