काठमाडौं, मंसिर ४ – अमेरिकाले अवैध रूपमा प्रवेश गरेका तथा भिसा नियम उल्लंघन गरेका ३५ नेपालीलाई नेपाल फिर्ता पठाएको छ। उनीहरू बिहीबार काठमाडौं आइपुगेका हुन्।
मानव बेचबिखन अनुसन्धान ब्यूरोका एसएसपी कृष्ण पंगेनीका अनुसार फर्काइएका मध्ये ३३ जना तल्लो बाटो प्रयोग गरेर अमेरिका पुगेका थिए। अमेरिका प्रवेश गर्न उनीहरूले ८० लाख रुपैयाँसम्म तिरेको खुल्न आएको छ। अवैध रूपमा विभिन्न देश हुँदै प्रवेश गरेका उनीहरू करिब दुई वर्षपछि अमेरिकन अधिकारीद्वारा समातिएर डिपोर्ट गरिएको बताइएको छ।
फिर्ता आएका दुई व्यक्तिमा एकजना विद्यार्थी भिसामा अमेरिका पुगेका थिए। कलेजमा भर्ना ननविकिकन भिसा विपरीत काम गरिरहेको पाइएपछि उनलाई डिपोर्ट गरिएको पंगेनीले जानकारी दिए। अर्का एक जना भिजिट भिसामा अमेरिका पुगेका थिए तर त्यहाँ काम गरिरहेको अवस्थामा पक्राउ परेपछि फिर्ता पठाइएको हो।
डिपोर्ट भएर फर्काइएका अधिकांश व्यक्ति रुकुम र दाङ क्षेत्रका रहेको प्रहरीले जनाएको छ। तर ती मध्ये कसैले पनि उजुरी दिन चाहेको छैन।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा अवैध आप्रवासीविरुद्ध कठोर नीति अपनाएपछि नेपालीहरूलाई पनि यसको असर परेको छ। ट्रम्पले अवैध आप्रवासी फिर्ता गर्ने अभियान सुरु गरेपछि हालसम्म २ सयभन्दा बढी नेपाली अमेरिका बाट डिपोर्ट भइसकेका छन्।
