काठमाडौं, मंसिर ६ – जनता समाजवादी पार्टी (जसपा) नेपालले आसन्न निर्वाचनको तयारी र सरकारप्रति दबाब सिर्जना गर्ने उद्देश्यसहित चरणबद्ध आन्दोलनको योजना सार्वजनिक गरेको छ।
पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले चुनावी सक्रियता र विरोध कार्यक्रम समानान्तर रूपमा अघि बढाउने निष्कर्ष निकालेको जानकारी प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले दिए।
उनका अनुसार मंसिर १० गते देशभरका जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई मागसहित ज्ञापनपत्र बुझाइनेछ। त्यसपछि मंसिर ११ देखि १५ गते सम्म प्रत्येक संसदीय क्षेत्रमा विरोध प्रदर्शन, कोणसभा र जनसंपर्क कार्यक्रम सञ्चालन हुनेछ।
पार्टीले मंसिर १९ देखि २१ गते जिल्ला प्रशासन कार्यालय अगाडि प्लेकार्ड र ब्यानरसहित शान्तिपूर्ण धर्ना आयोजना गर्ने निर्णय गरेको छ। त्यसैगरी मंसिर २७ देखि पुस ४ सम्म जिल्लास्तरीय विरोधसभा तथा जनसभा गरिनेछ।
प्रदेशस्तरमा पनि ठूलो प्रदर्शनको तयारी गरिएको जसपाले जनाएको छ। सोअनुसार पुस १२ गते – विराटनगर, पुस १४ गते – जनकपुर, पुस १५ गते – वीरगञ्ज, पुस १७ गते – नेपालगञ्ज र भैरहवामा जनप्रदर्शन तथा विरोधसभा हुनेछन्।
पार्टीका अनुसार विगतदेखि उठाउँदै आएका मागमा सरकार उदासीन देखिएकाले सडक संघर्ष अवलम्बन गर्नुपर्ने स्थिति आएको हो। आवश्यक ठानिएमा प्रदेश तथा जिल्ला समितिहरूले थप विरोध कार्यक्रम घोषणा गर्न सक्ने जसपाको भनाइ छ।
