भृकुटीमण्डपमा एमाले कार्यकर्ताहरूको भीड बाक्लिँदै, सवारी आवागमन डाइभर्सन


भृकुटीमण्डपमा एमाले कार्यकर्ताहरूको भीड बाक्लिँदै, सवारी आवागमन डाइभर्सन
  • नवकिरण
  • मंसिर ६, २०८२

काठमाडौं, मंसिर ६ – नेकपा एमालेले आज आयोजना गरेको वृहत् जनसभामा सहभागी हुन राजधानीका विभिन्न स्थानबाट नेता तथा कार्यकर्ताहरू भृकुटीमण्डपतर्फ समूहगत रूपमा जम्मा हुन थालेका छन्। पार्टीको झण्डा, प्लेकार्ड र नारा लेखिएका ब्यानरसहित उनीहरू र्‍यालीको शैलीमै सभा स्थल पुगेका हुन्।

‘संविधान र लोकतन्त्रको रक्षा हाम्रो साझा जिम्मेवारी’ भन्ने नारासहित जनसभा आयोजना गरिएको एमालेले जनाएको छ। सो कार्यक्रम बागमती प्रदेश कमिटीको व्यवस्थापनमा भइरहेको छ।

सभा सुरु हुनुअघि नै भृकुटीमण्डपवरपर भीड बढ्दै गएपछि त्यहाँको आवागमन प्रभावित बनेको छ। प्रहरीका अनुसार, प्रदर्शनीमार्गमा अत्यधिक भीड भएपछि सवारी साधनलाई पद्मोदय मोड र सभागृह मोडतर्फ डाइभर्सन गरिएको छ।

त्यस्तै, र्‍याली निरन्तर चलिरहेकाले टुँडिखेल आसपासको ट्राफिक पनि केही समय प्रभावित रहने अनुमान प्रहरीले गरेको छ। यात्रुहरूलाई सहज आवागमनका लागि वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

एमालेको प्रदर्शन र जनसभाले राजधानीको मुख्य क्षेत्रमा केही समय चहलपहल बढाउने देखिएको छ।