काठमाडौं, मंसिर ७ – मोरङको विराटनगरस्थित एयरपोर्ट लाइन क्षेत्रमा आइतबार एमाले नेता तथा पूर्वमन्त्री महेश बस्नेत सवार गाडीमा जेनजी युवाहरुले रातो मसी प्रहार गरेका छन्। कोशी प्रदेशमा आयोजित युवा संघको प्रदेशस्तरीय कार्यक्रमका लागि बस्नेत सुनसरीतर्फ जाँदै गर्दा मसी फ्याँकिएको हो।
प्रत्यक्षदर्शीका अनुसार सडकछेउबाट आएर दुई युवाले बेलुनमा भरेको रातो अबिर जेठार गर्दै बस्नेत सवार कारतर्फ हानेका थिए। मसी प्रहारपछि बस्नेतको गाडी केहीबेर रोकिए पनि सुरक्षा टोलीले तुरुन्तै मार्गनिर्देशन जारी राखेको थियो।
पछाडि चलिरहेको प्रहरी भ्यानले घटनापछि ती दुई युवकलाई तत्काल नियन्त्रणमा लिएको मोरङ प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर तथा विराटनगर–१ का २५ वर्षीय संजोग गौतम छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर अनुसन्धान अघि बढाइएको छ।
गौतमले यो कदम उनीहरूद्वारा एमाले र महेश बस्नेतविरुद्ध गरिएको सांकेतिक विरोध भएको बताएका छन्। पक्राउ परेका युवालाई प्रहरीले भ्यानमा राखेर कार्यालयतर्फ लैजाँदा पनि समूहले बस्नेतविरुद्ध नारा लगाइरहेको भिडियो सार्वजनिक भइरहेको छ।
घटनाबारे प्रतिक्रिया दिँदै महेश बस्नेतले आफू सवार गाडीमा रातो मसी प्रहार गरिएको पुष्टि गर्दै भने – “एयरपोर्टबाट निस्कँदा दुई जना युवाले बेलुनमा पानी र अबिर भरेर हाने। पछि प्रहरीले नियन्त्रणमा लियो, हामी भने अघि बढ्यौं।”
बस्नेतले कार्यक्रममा सहभागी हुन रोकावट सिर्जना गर्ने उद्देश्यले गरिएको यस प्रकारको गतिविधिलाई “लोकतन्त्रमाथिको उपहास” भन्दै आलोचना गरेका छन्।
