काठमाडाैँ, मंसिर ७ – राजधानीस्थित राष्ट्रिय सभा गृहमा आइतबार एकता कार्यक्रम सम्पन्न गर्दै नयाँ राजनीतिक शक्ति ‘प्रगतिशील लोकतान्त्रिक पार्टी’को घोषणा गरिएको छ।
यस पार्टीको गठन नेसपा (नयाँ शक्ति पार्टी), प्रगतिशील राष्ट्रिय अभियान तथा रास्वपा परित्याग गरेका सन्तोष परियारसमेतका समूहहरू एउटै मोर्चामा आएपछि सम्भव भएको हो।
कार्यक्रममा सार्वजनिक गरिएको जानकारी अनुसार नयाँ पार्टीले नेसपा नयाँ शक्ति पार्टीले प्रयोग गर्दै आएको ‘आँखा’ नै आफ्नो आधिकारिक चुनाव चिह्नका रूपमा लग्नेछ। पार्टी संरचनामा ७ सदस्यीय अध्यक्ष मण्डल रहने छ, जसले समष्टिगत नेतृत्व अभ्यास गर्ने बताइएको छ।
यसअघि कात्तिक २८ गते नेसपाका संरक्षक डा. बाबुराम भट्टराईले नयाँ राजनीतिक मोडेलका लागि विभिन्न प्रगतिशील शक्तिहरूलाई एकताबद्ध हुन आह्वान गरेका थिए। सोही पहललाई निरन्तरता दिँदै आज औपचारिक रुपमा पार्टी घोषणा गरिएको हो।
