‘पाँच सय’ रुपैयाँको झगडामा युवतीको मृत्यु, बसपार्कमा शव फेला


‘पाँच सय’ रुपैयाँको झगडामा युवतीको मृत्यु, बसपार्कमा शव फेला
  • नवकिरण
  • मंसिर ८, २०८२

काठमाडौं, मंसिर ८ – काठमाडौंको गोंगबुस्थित नयाँ बसपार्कमा शनिबार बेरिएको अवस्थामा भेटिएको शव रूकुम घरकी करिब २० वर्षकी आयुषा मगर (माया)को भएको पुष्टि भएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी रमेश थापाका अनुसार प्रारम्भमा शवको पहिचान खुलेको थिएन। विस्तृत अनुसन्धानपछि मृतकको पहिचान सुनिश्चित भएको थियो।

प्रहरीको विवरणअनुसार मृतक मगरको आर्थिक लेनदेनमा संलग्न होटलमा काम गर्ने करिब २५ वर्षीय सूर्य थापा मगरसँग विवाद भएको थियो। उनले पाँच सय रुपैयाँ फिर्ता माग्दा नदिएपछि डर देखाउने उद्देश्यले सामान्य कुटपिट गरेका थिए।

एसएसपी थापाका अनुसार विवादको क्रममा सूर्य थापाले मृतकको घाँटी थिच्दा ज्यान गएको थियो। पछि शवलाई होटलकै तन्नामा बेरेर बसपार्कमा फालिएको प्रहरीले जनाएको छ।

यस विषयमा काठमाडौं प्रहरी परिसरले कात्तिक महिनाभरि भएका विभिन्न घटनाहरूको जानकारी दिन अपराह्न पत्रकार सम्मेलनको आयोजना गर्ने जानकारी दिएका छन्।