बुटवल, मंसिर ११ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआइजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीसम्बन्धी मुद्दाको सुनुवाइ बिहीबार स्थगित भएको छ। न्यायाधीश मिलनकुमार राई र सानुमाया डंगोल रहेको ३ नम्बर इजलासमा आज सुनुवाइको मिति तोकिएको थियो।
अदालतका सूचना अधिकारी रामबहादुर कुँवरका अनुसार लामिछाने पक्षका कानुन व्यवसायीले आजकै पेशी सार्न निवेदन दिएपछि सुनुवाइ स्थगित गरिएको हो। सुप्रिम सहकारी ठगीसम्बन्धी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा देखिएको अनियमितताको आफ्नो हिस्साको बिगो रकम भुक्तानी गरे पनि छुट नपाएको भन्दै उच्च अदालतमा पुनरावलोकन मागेका थिए।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाले साउन २६ गते लामिछानेलाई थुनामै राख्ने आदेश जारी गरेका थिए। सो आदेशविरुद्ध लामिछानेले भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गराएका थिए। यसअघि नै अदालतले लामिछाने र जोशीको मुद्दा एकैसाथ सुनुवाइ गर्ने निर्णय गरेको छ।
