सुशिला सरकारप्रति आक्रोश, जेनजी युवाहरू पुनः सडकमा


सुशिला सरकारप्रति आक्रोश, जेनजी युवाहरू पुनः सडकमा
  • नवकिरण
  • मंसिर ११, २०८२

काठमाडौं, मंसिर ११ – माइतीघर मण्डलामा जेनजी पुस्ताका युवाहरूले सरकारविरुद्ध विरोध प्रदर्शन गरेका छन्। जेनजी आन्दोलनको नेतृत्वबाट सत्ता सम्हालेको सरकारले आफ्ना मागहरू वेवास्ता गरेको आरोप लगाउँदै उनीहरू सडकमा उत्रिएका हुन्।

विरोध प्रदर्शनमा सहभागी युवाहरूले सरकारप्रति असन्तुष्टि जनाउँदै विविध नारा अंकित पम्प्लेट र ब्यानर प्रदर्शन गरे। ‘सुशीलाको पाराले, दुःख पाए साराले’, ‘जेनजीको आडमा चुरीफुरी, सुशिला सरकार कुरीकुरी’, ‘ओलीको खेलमा, सुशीलाको झेलमा, जेनजी सबै जेलमा’ जस्ता नाराले प्रदर्शन स्थल चर्किएको थियो।

आन्दोलनका सहभागीहरूका अनुसार जेनजीको आवाजबाट बनेको सरकारले युवापुस्ताका वास्तविक मुद्दा—रोजगार, सुशासन र पारदर्शितालाई प्राथमिकतामा नराखेको आरोप लगाइयो। “हामीले परिवर्तनका लागि आवाज उठायौं, तर यसपालि पनि सरकार अलि–अलि कानमा मात्र सुनिरहेको छ,” एक सहभागीले भने।

माइतीघर क्षेत्रमा केही समयसम्म शान्तिपूर्ण विरोध प्रदर्शन चले पनि प्रहरीले आवागमन सहज बनाउने निर्देशनसँगै प्रदर्शन नियन्त्रित गरेको थियो। प्रदर्शनकारीहरूले भने माग सम्बोधन नभएसम्म निरन्तरता दिने चेतावनी दिएका छन्।