काठमाडौं, १२ मंसिर – नेपाली कांग्रेसमा नियमित वा विशेष महाधिवेशन गर्ने विषयमा विवाद चुलिँदै जाँदा पार्टीका शीर्ष नेताहरू पुनः छलफलमा बसेका छन्।
सभापति शेरबहादुर देउवासँग कार्यवाहक सभापति पूर्णबहादुर खड्का, साथै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा आज दिउँसो १ बजे भेटवार्ता गर्न लागेका छन्।
पार्टीको महाधिवेशन चुनावअघि गर्ने कि पछि भन्ने विषयमा सहमति नजुटेपछि नेताहरूबीच लगातार बैठक बसेको हो। हिजो साँझ पनि यही विषयमा उनीहरू देउवासँग छलफलमा सहभागी भएका थिए।
महाधिवेशनबारे नेतृत्वबीच मतभेद कायम रहेको छ। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशन गर्नुपर्ने माग गर्दै लिखित प्रस्तावसमेत पेस गरेका छन्। तर चुनावअघि वा चुनावपछि महाधिवेशन गर्ने भन्ने संवेदनशील मुद्दामा ठोस निर्णय नआएपछि बिहीबारका लागि तय गरिएको केन्द्रीय समितिको बैठक स्थगित गरी आगामी आइतबारमा सारिएको छ।
महाधिवेशन समयबारे स्पष्टता नआउँदा कांग्रेसभित्र नेतृत्व पक्ष र अधिवेशन प्रतिनिधि समूहबीच राजनीतिक रस्साकस्सी बढ्दै गएको देखिन्छ।
