राप्रपाको घोषणा : मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी प्रदर्शन


राप्रपाको घोषणा : मंसिर २३ गते काठमाडौंमा उपत्यकाव्यापी प्रदर्शन
  • नवकिरण
  • मंसिर १२, २०८२

काठमाडौं, १२ मंसिर – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंसिर २३ गते राजधानी काठमाडौंमा ठूलो जनप्रदर्शन गर्ने निर्णय गरेको छ। पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बिहीबार बसेको बैठकले यसबारे सहमति कायम गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका हुन्।

उनका अनुसार ‘राजतन्त्र, राजनीतिक दलहरू र जेनजीबीच नयाँ समझदारी कायम गर्न दबाव सिर्जना’ गर्ने उद्देश्यले उपत्यकाभरि प्रदर्शन आयोजना गर्ने तयारी गरिएको हो। पार्टीले यसमार्फत वर्तमान राजनीतिक अवस्थाप्रति आफ्नो धारणा जनताको बीचमा स्पष्ट रूपमा पुर्‍याउने बताएको छ।

यसैक्रममा, राप्रपाले देशभर सभा तथा प्रदर्शन सञ्चालन गर्ने योजना अघि सारेको छ। मुलुकको समसामयिक विषयमा पार्टीको मत प्रधानमन्त्री सुशीला कार्कीसँग प्रत्यक्ष रूपमा राख्ने निर्णय पनि बैठकले गरेको छ।

सभा र प्रदर्शन व्यवस्थापनको जिम्मा प्रवक्ता ज्ञानेन्द्र शाही, प्रवक्ता गोपाल दाहाल, सहमहामन्त्री रवीन्द्रप्रताप शाह तथा सहमहामन्त्री धनबहादुर बुढालाई दिइएको छ।

यस्तै, समान सोच भएका दल, अभियान, समूह तथा व्यक्तिहरूसँग सहकार्य र एकताको सम्भावनालाई अघि बढाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, विक्रम पाण्डे र ध्रुबबहादुर प्रधानको नेतृत्वमा वार्ता समिति गठन गरिएको राप्रपाले जनाएको छ।