विराटनगर, मंसिर १२ – जेनजी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेका विराटनगर र आसपास क्षेत्रमा रहेका सीसीटिभी क्यामेरा पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङ र युनिभ्यु ब्रान्डका आयातकर्ता प्लाजा सेल्स प्रालिबीच मर्मतसम्बन्धी औपचारिक सम्झौता सम्पन्न भएको हो।
सीसीटिभी मर्मतका लागि कुल करिब २४ लाख ५० हजार रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। यसको लागि युएनभीले करिब साढे १४ लाख रुपैयाँ सहयोग गर्नेछ भने मोरङ उद्योग व्यापार संघ, उद्योग संगठन मोरङ, नेपाल उद्योग परिसंघ कोशी र नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले बाँकी रकम उपलब्ध गराउने निर्णय गरेका छन्। यो पहल व्यावसायिक सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत अघि सारिएको हो।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक कवित कटुवालका अनुसार सार्वजनिक सुरक्षाको दृष्टिले सीसीटिभी निगरानी अत्यन्त आवश्यक छ। क्यामेरा पुनः सक्रियताले अपराध नियन्त्रणमा सहयोग गर्ने र सुरक्षा व्यवस्थालाई सुदृढ बनाउने उनले बताए।
जेनजी आन्दोलनका क्रममा विराटनगरमा स्थापन भएका १५६ मध्ये १२२ सीसीटिभी क्यामेरा क्षतिग्रस्त भएका थिए। केही चोरी पनि भएका थिए। वर्तमान अवस्थामा केवल ३४ क्यामेरा मात्र काम गरिरहेको महानगरीय प्रहरीको तथ्यांकले देखाउँछ। मर्मत पछि सम्पूर्ण प्रणाली पुनः सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।
