काठमाडौं, मंसिर १५ – नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकअघि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आज पार्टी पदाधिकारीहरूको आकस्मिक बैठक आह्वान गरेका छन्। सहमहामन्त्री महालक्ष्मी उपाध्यायका अनुसार, बैठक पार्टी केन्द्रीय कार्यालयमै बस्दैछ।
बैठकको मुख्य उद्देश्य आगामी १५औँ महाधिवेशनको कार्यतालिका तयार गर्नु रहेको छ। पार्टी स्रोतहरूका अनुसार कार्यवाहक सभापति खड्काले पुसको अन्तिम हप्ताभित्र महाधिवेशन गर्ने प्रस्ताव पेस गर्ने तयारी गरेका छन्। यससहित महाधिवेशनसँग सम्बन्धित अन्य एजेन्डामा पनि पदाधिकारीबीच छलफल हुने बताइएको छ।
पदाधिकारी बैठक सकिएपछि दिउँसो २ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने कार्यक्रम छ। सो बैठकमा पदाधिकारीहरूले तय गरेको कार्यतालिका र प्रस्ताव औपचारिक रूपमा प्रस्तुत गरिने पार्टी नेताहरूले जानकारी दिएका छन्।
