काठमाडौं, मंसिर १६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भदौ २३ गते जेनजी प्रदर्शनका क्रममा संसद भवन अगाडि भएके गोलीकाण्डबारे तत्कालीन सरकारले नैतिक जिम्मेवारी लिनुपर्ने निष्कर्ष प्रस्तुत गरेकी छन्।
कान्तिपुर टेलिभिजनको ‘फायर साइड’ कार्यक्रममा बोल्दै नेतृ भण्डारीले सो घटनाका बेला नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार रहेको भन्दै “सरकारको समयमै घटना भएको हुँदा त्यसको नैतिक जिम्मेवारी पनि त्यही सरकारका प्रमुखले लिनुपर्छ” भन्ने धारणा राखिन्।
उनका अनुसार कुनै पनि दुर्घटना, प्राकृतिक प्रकोप वा ठूलो घटना राज्यको नियन्त्रणमा नहुन सक्छ, तर त्यसबाट प्रभावित जनतालाई जोगाउने, पूर्वसूचना दिने र सुरक्षा प्रबन्ध सुनिश्चित गर्ने जिम्मेवारी भने सरकारको नै हुन्छ। “बाढी–पहिरो रोक्न सरकार सक्षम नहुन सक्छ, तर सूचना र तयारी किन नहुने? त्यस्तै, विद्यार्थीहरू सडकमा उतारिँदा किन सुरक्षा कमजोर भयो?” भण्डारीले प्रश्न उठाइन्।
भण्डारीका अनुसार त्यो दिनका सुरक्षा कमजोरी र तत्कालीन परिचालनबारे गहिरो छानबिन हुनुपर्छ। तर नैतिक जवाफदेहिताको सवाल भने टार्न नसकिने उनको भनाइ थियो। “सम्बन्धित नेतृत्वले स्वीकारोस् वा नस्वीकारोस्, समाजले नै त्यस्तो जिम्मेवारी सरकारकै कन्धामा राख्छ,” उनले टिप्पणी गरिन्।
भदौ २३ गते संसद भवन अगाडि जेनजी प्रदर्शनका क्रममा गोली लागेर १९ जनाको मृत्यु भएको थियो। त्यसपछि अस्पतालमा उपचारका क्रममा थप ४ जनाको निधन भएको थियो। भदौ २४ सम्म पुग्दा प्रदर्शनसँग सम्बन्धित मृत्यु संख्या ७६ पुगेको सरकारी तथ्यांकले देखाउँछ।
