काठमाडौँ, मंसिर १७ – ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले बुधबार राजधानीमा आयोजित समारोहमार्फत आफूलाई औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी पूरा गरेको छ। पार्टीले दिउँसो १ बजेदेखि ४ बजेसम्म प्रज्ञा भवन, कमलादीमा आयोजना गर्न लागेको घोषणासभामा मन्त्री घिसिङ प्रमुख अतिथिको रूपमा उपस्थित हुनेछन्।
पार्टीका अनुसार, घोषणासभामा २०८२ सालको घोषणापत्र प्रस्तुत गर्दै दीर्घकालीन विकास दृष्टि, मूल ध्येय र कार्यदिशा सार्वजनिक गरिनेछ। यस घोषणापत्रमा ऊर्जा, पूर्वाधार, सहरीकरण, रोजगारी र सुशासनसँग जोडिएका महत्वपूर्ण विषयहरू समेटिएको बताइएको छ।
उज्यालो नेपाल पार्टीले यसअघि मङ्सिर १२ गते जारी गरेको विज्ञप्तिमार्फत, नेपाली राजनीतिमा केवल अर्को दलको रूपमा होइन, देशको उज्यालो भविष्य निर्माण गर्ने क्षमता, नेतृत्व र अनुभव बोकेको नयाँ शक्ति भएको दाबी गरेको थियो। विज्ञप्तिमा प्रभावकारी प्रशासन, पारदर्शी शासन र परिणाममुखी नीतिहरूलाई आधारस्तम्भ बनाउने प्रतिबद्धता व्यक्त गरिएको थियो।
समारोहमा पार्टीका संस्थापक टोली, विभिन्न क्षेत्रमा क्रियाशील पेशेवर, तथा नयाँ पुस्ताका युवाहरूको सहभागिता रहने बताइएको छ।
