काठमाडौँ, मंसिर १७ – राष्ट्रियसभा सदस्य वामदेव गौतमले १६ वर्ष उमेर पुगेका युवक–युवतीलाई औपचारिक रूपमा काम गर्न पाउने व्यवस्था गर्नुपर्ने धारणा राखेका छन्।
सिंहदरबारस्थित विकास, आर्थिक मामिला तथा सुशासन समितिको बुधबार बसेको बैठकमा बोल्दै उनले हाल लागू कानुनले १८ वर्षभन्दा कम उमेरका व्यक्तिलाई काम गर्न प्रतिबन्धित गरेको उल्लेख गरे।
उनका अनुसार, अमेरिका लगायतका धेरै मुलुकमा १६ वर्षमै रोजगारी गर्ने अवसर हुन्छ। नेपालमा यो सीमा घटाए युवालाई देशमै स्वावलम्बी बन्न प्रेरणा मिल्ने र वैदेशिक रोजगारी तर्फको आकर्षण कम हुने उनको तर्क छ।
गौतमले विदेशमा बस्ने नेपाली युवाको योगदानलाई स्मरण गर्दै राष्ट्रिय अर्थतन्त्र त्यही श्रम आम्दानीबाट चलिरहेको बताए। “हाम्रो करिब ६० लाख युवाहरू विदेशमा छन्। उनीहरूले कमाएको रकमले देश धानिएको छ,” उनले भने, “त्यही श्रम शक्ति स्वदेशमै प्रयोग गर्ने वातावरण बनाउनु सरकारको दायित्व हो।”
उनले सरकारले युवालाई ऋणमाथि ऋण थोपर्ने नीतिबन्दी भन्दा रोजगार सिर्जना गर्ने स्पष्ट व्यवस्था गर्नुपर्नेमा जोड दिए। “१६ वर्षको उमेरमा पनि काम गर्न सकिन्छ। कानुन संशोधन गरी त्यसलाई वैध बनाउनुपर्छ,” गौतमको भनाइ छ।
