उपत्यकामा ट्राफिक जाम नियन्त्रण: लामो दूरीका बस अब बसपार्कबाट मात्रै चल्ने


उपत्यकामा ट्राफिक जाम नियन्त्रण: लामो दूरीका बस अब बसपार्कबाट मात्रै चल्ने
  • नवकिरण
  • मंसिर १८, २०८२

काठमाडौँ, मंसिर १८ – काठमाडौँ उपत्यकामा दिनप्रतिदिन बढ्दै गएको जामलाई प्रभावकारी रूपमा न्युनिकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले नयाँ नियम कडाइका साथ लागू गरेको छ। अब उपत्यकाभित्र सञ्चालन हुने सबै प्रकारका लामो दूरीका रात्री र दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएका बसपार्कबाट मात्रै छुट्नुपर्ने व्यवस्था लागू गरिएको हो।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार पछिल्ला दिनमा लामो दूरीका बसहरूले लोकल बसझैँ बीच सडकमै रोकिने, यात्रु चढाउने–ओर्लाउने जथाभावी गतिविधि बढाएको पाइएकाले जाम अत्यधिक बढ्ने समस्या देखिएको छ।

“राजधानीमा प्रत्येक दिन सडकको भीड बढ्दै गएको छ। नियम विपरीत सडक किनारमै बस रोकिँदा पिक आवरमा जाम झन् गम्भीर बन्किन्छ,” प्रवक्ता सुवेदीले भने, “त्यसैले अब सबै वाहनले बसपार्कबाटै यात्रा सुरु गर्नैपर्छ।”

यसबाहेक, लामो दूरीका सवारीहरूलाई दिइँदै आएको रूट परमिट (बट इजाजतपत्र) पनि पुनरावलोकन गर्न आवश्यकता देखिएको ट्राफिक प्रहरीले जनाएको छ। यस विषयमा समन्वयका लागि सम्बन्धित निकायलाई अनुरोध गरिएको छ।

ट्राफिक प्रहरीले सडक अनुशासन कडाइका साथ लागू गर्न विभिन्न कदम अगाडि सारेको छ। लेन क्रस गर्ने, रातो बत्ती उल्लङ्घन गर्ने, मादक पदार्थ सेवन गरी सवारी चलाउने तथा तीव्र गतिमा सवारी हाक्ने चालकहरूलाई अनिवार्य सचेतना कक्षामा सहभागी गराउँदै आएको कार्यालयले जनाएको छ। यी कक्षालाई अझ प्रभावकारी बनाउने योजना पनि अघि बढाइएको छ।

सेवाग्राहीका लागि अनलाइन सचेतना कक्षा पनि उपलब्ध गराइएको छ। मोबाइल एपमार्फत सञ्चालन हुने यस प्रणाली प्रयोग गर्न, पहिले एप ‘अनइन्स्टल’ गरी पुनः ‘इन्स्टल’ गर्नुपर्ने ट्राफिक प्रहरीले जनाएको छ। नयाँ सुविधाले घरमै बस्न–बस्नै कक्षा लिन सकिने भएकाले चालकहरूलाई थप सहज हुने बताइएको छ।