जनकपुरधाम, मंसिर २० – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औँ महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने औपचारिक घोषणा गरेका छन्।
शनिबार नेपाल प्रेस युनियन सर्लाहीले जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममार्फत थापाले आफ्नो उम्मेदवारी सुनिश्चित गरेका हुन्।
थापाले पछिल्ला महिनाहरू पार्टीभित्र छलफल र बहसमा समय बितेकाले अब महाधिवेशनलाई शीघ्र सम्पन्न गरी फागुन २१ गते निर्धारित आम निर्वाचनमा पार्टी सक्रिय रूपमा सहभागी हुने निर्णय भइसकेको जानकारी दिए।
उनका अनुसार कांग्रेसले महाधिवेशन र प्रतिनिधि सभा निर्वाचन दुबैको तयारी एकैसाथ अघि बढाइरहेको छ। उनले वर्तमान सरकारले निर्धारित मितिमै निर्वाचन गराउने विश्वास पनि व्यक्त गरे।
थापाले यसपटक पनि काठमाडौँ निर्वाचन क्षेत्रबाटै प्रतिस्पर्धा गर्ने स्पष्ट पारे। सर्लाही क्षेत्र नं. ४ बाट उम्मेदवारी आग्रह आएको भए पनि, पार्टीभित्र प्रायः आफ्नै क्षेत्रबाट चुनाव लड्ने परम्परा रहेकाले आफू काठमाडौँबाटै चुनावी मैदानमा उत्रने बताइयो।
