काठमाडौं, मंसिर २१ – नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनलाई भव्य बनाउने उद्देश्यले युवा संघ नेपालले कम्तीमा ५० हजार युवालाई काठमाडौंमा उतार्ने तयारी गरेको जनाएको छ । संघका अध्यक्ष क्षितिज थेबेले संघअन्तर्गतका सबै संरचनालाई व्यापक रूपमा परिचालन गर्न निर्देशन जारी गरिएको बताए।
उनका अनुसार महाधिवेशन उद्घाटन मंसिर २७ गते भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा हुने भएकाले त्यस दिन उपत्यकाभरि युवाको अभूतपूर्व उपस्थितिको लक्ष्य लिइएको छ। काठमाडौं र ललितपुरका ६१ वडाबाट मात्र ६ हजारभन्दा बढी युवा सहभागी गराउने तयारी गरिएको छ । उपत्यकाका बाँकी १९ पालिकाबाट झण्डै १९ हजार, साथै बागमती प्रदेशका १० जिल्लाबाट १५ हजार युवालाई ल्याउने योजना प्रस्तुत गरिएको छ।
त्यसैगरी, कोशी र मधेस प्रदेशबाट ४–४ हजार, गण्डकीबाट ३ हजार, लुम्बिनीबाट २ हजार तथा कर्णाली र सुदूरपश्चिमबाट ५ सय–५ सय गरी एक हजार युवा काठमाडौं आउँने संघले जनाएको छ।
अध्यक्ष थेबेका अनुसार संगठनका सबै तह सक्रिय रूपमा जुटेकाले महाधिवेशनको उद्घाटन दिन उपत्यकामा ‘इतिहासकै ठूलो जनसमूह’ प्रदर्शन गरिने एमाले नेतृत्वले दाबी गरेको छ।
एमालेको ११औँ महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म सञ्चालन हुने छ। उद्घाटन सत्र सल्लाघारीमा र बन्दसत्र भृकुटीमण्डपमा हुने बताइएको छ।
