काठमाडौँ, मंसिर २४ – आगामी प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले महामन्त्री गगन थापालाई काठमाडौं–४ बाट सर्वसम्मत रूपमा एकल सिफारिस गरेको छ।
क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले थापालाई पुनः सोही क्षेत्रबाट प्रत्यक्ष उम्मेदवार बनाउनु उचित ठानेर नाम अघि सारेको हो।
क्षेत्रीय सभापति श्यामकृष्ण संगतका अनुसार समितिमा उपस्थित सबै सदस्यले थापाको नाममा सहमति जनाए। उनले भने, “प्रत्यक्षतर्फ गगन थापाको नाम एकल रूपमा अनुमोदन गरिएको छ।”
प्रत्यक्ष सिफारिससँगै समानुपातिकतर्फ पनि तीन जनाको सूची तयार गरिएको छ। राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्माको नाम समानुपातिक कोटाका लागि सिफारिस गरिएको संगतले जानकारी दिए।
महामन्त्री थापाको नाम यसअघि रोल्पा, सर्लाही–४ र धनकुटाबाट पनि सिफारिस भइसकेको छ। थापा तीनपटक काठमाडौं–४ बाट प्रत्यक्ष निर्वाचित भइसकेका नेता हुन्। २०६४ सालमा भने उनी समानुपातिक सूचीमार्फत संविधानसभा सदस्य बनेका थिए।
आगामी निर्वाचन नजिकिँदै गर्दा काठमाडौं–४ मा कांग्रेसले देखाएको एकमतले थापाको उम्मेदवारी फेरि एकपटक बलियो भएको विश्लेषकहरूको बुझाइ छ।
