काठमाडौँ, मंसिर २८ – नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्र सुरु हुनुअघि आइतबार बिहान भृकुटीमण्डपमा बसेको केन्द्रीय समिति बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति असन्तुष्टि व्यक्त गरेका छन्।
बैठकमा ओलीले आत्मआलोचना र प्रतिवेदनको नाममा आफूमाथि प्रहार गर्ने प्रयास भएको भन्दै कटाक्ष गरे। उनले आफ्नै पार्टीभित्रका केही नेताहरूले अरूको एजेन्डा बोकेर आफूलाई कमजोर बनाउने प्रयत्न गरेको आरोप लगाए।
‘आत्मआलोचनाका नाममा अरूको एजेन्डा बोकेर हिँड्ने काम भइरहेको छ,’ ओलीले बैठकमा भनेको उद्धृत गर्दै एक केन्द्रीय सदस्यले बताए। उनले तत्कालीन प्रधानमन्त्री आफूलाई कारबाही गर्नुपर्ने माग विपक्षी दल वा मिडियाले समेत नगरेको अवस्थामा आफ्नै नेताहरूले दस्तावेजमार्फत उठाएको विषयप्रति रोष व्यक्त गरेका थिए।
वरिष्ठ उपाध्यक्ष पोखरेलले यसअघि जेनजी आन्दोलनसम्बन्धी गठित छानबिन समितिमा ओलीले बयान दिनुपर्ने सार्वजनिक धारणा राख्दै आएका थिए। दोषी ठहरिए कारबाही हुनुपर्ने उनको भनाइ थियो।
यद्यपि, पार्टीभित्र देखिएको आन्तरिक असन्तुष्टिका बाबजुद पनि ओलीले आफूलाई भाग्यमानी नेता भएको दाबी गरे। उनले नेतृत्व र कार्यकर्ताबाट असाधारण सहयोग पाएको उल्लेख गर्दै पार्टी पंक्तिप्रति आभार व्यक्त गरेका थिए।
बैठकमा ओलीले महाधिवेशनको प्रक्रिया र कमिटीको हैसियतबारे पनि स्पष्ट पारे। नयाँ नेतृत्व चयन भई शपथ ग्रहण नभएसम्म सबै जना केन्द्रीय कमिटी सदस्यकै हैसियतमा रहने जानकारी उनले गराए।
त्यसैगरी बन्दसत्र सञ्चालनका लागि गठन हुने अध्यक्षमण्डलको अध्यक्षता पार्टी अध्यक्ष स्वयंले गर्ने जानकारी पनि ओलीले बैठकमा दिएका छन्।
