विद्युत् प्राधिकरणद्वारा उद्योगी–व्यवसायीलाई दोस्रो किस्ता बुझाउन पुन: पत्राचार


विद्युत् प्राधिकरणद्वारा उद्योगी–व्यवसायीलाई दोस्रो किस्ता बुझाउन पुन: पत्राचार
  • नवकिरण
  • मंसिर २९, २०८२

काठमाडौं, मंसिर २९ – नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनको बक्यौता तिर्न उद्योगी–व्यवसायीलाई दोस्रो किस्ता बुझाउन पुनः पत्राचार गरेको छ। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यका अनुसार, पहिलो किस्ता तिरेका उद्योगमध्ये अधिकांशले दोस्रो किस्ता रकम अझै बुझाएका छैनन्।

शाक्यले भने, “पहिलो पत्राचार मंसिरको पहिलो सातामा वितरण केन्द्रमार्फत गरिएको थियो। तर केही उद्योगले मात्रै दोस्रो किस्ता तिरेको हुनाले पुनः सबैलाई पत्राचार गरिएको हो।” प्राधिकरणले रकम नबुझाए फेरि विद्युत् लाइन काट्ने तयारी गरेको छ।

पहिलो किस्ता बुझाएका २२ उद्योगमध्ये रिलायन्स स्पिनिङ मिल्सले अदालतबाट अन्तरिम आदेश पाएका छन्। बाँकी २१ उद्योगलाई दोस्रो किस्ता तिर्न पत्राचार गरि चेतावनी दिइएको छ।

गत कात्तिक ४ गते २५ उद्योगको बक्यौता नतिरेपछि लाइन काटिएको थियो। त्यसपछि ती उद्योगले करिब एक महिनाभित्र पहिलो किस्ता बुझाएर लाइन जोडेका थिए। प्राधिकरणले बक्यौता तिर्न उद्योगहरुलाई २८ किस्तामा सुविधा दिएको छ।

उद्योगी–व्यवसायीसँग भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्री सुशीला कार्की, अर्थमन्त्री रामेश्वर खनाल, उद्योग–वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हा, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री कुलमान घिसिङ र महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालको उपस्थितिमा शुल्कसम्बन्धी विवादको मध्यमार्गी समाधान प्रस्ताव तयार भएको थियो। यसपछि २३ उद्योगीले पहिलो किस्ता बुझाएका थिए।

यस विवादमा ५८ उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्मको ६ अर्ब ११ करोड रुपैयाँ बक्यौता संकलन गर्ने निर्देशन दिइएको छ। १० उद्योगले बक्यौता चुक्ता गरिसकेका छन् भने दुई सरकारी उद्योगले किस्तामा तिर्न प्रतिबद्धता जनाएका छन्। डाबर नेपाल र सुदूरपश्चिम हवाई कार्यालयको धरौटी जफत गरेर रकम उठाइसकिएको छ। ६ उद्योगले अन्तरिम आदेश लिएका छन्।