खराब मौसमका कारण रवि लामिछाने काठमाडौँमै अड्किए


खराब मौसमका कारण रवि लामिछाने काठमाडौँमै अड्किए
  • नवकिरण
  • पौष ४, २०८२

काठमाडौँ, पुस ४ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने भैरहवाको मौसम प्रतिकूल बनेपछि शुक्रबार काठमाडौँमै रोकिएका छन्।

अदालतमा उपस्थित हुन जहाजमार्फत भैरहवा जाने तयारीमा रहेका उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमै रोकिएका हुन्।

बिहीबार उच्च अदालत बुटवल–तुलसीपुरले थुनाबाहिर बसेर मुद्दा लड्न पाउने आदेश दिएपछि लामिछाने आज भैरहवा जाने कार्यक्रम तय भएको थियो। बिहान ७:५५ बजेको उडान तय भए पनि मौसम खराब हुँदा अहिलेसम्म उडान हुन नसकेको विमानस्थल स्रोतले जनाएको छ।

उच्च अदालत बुटवलका न्यायाधीश बासुदेव आचार्य र तेजनारायण पौडेलको संयुक्त इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएको हो। आदेशसँगै अदालतले विभिन्न शर्तहरू पनि तोकेको छ, ती शर्त पूरा गरेपछि मात्रै उनलाई थुनाबाहिर बस्न अनुमति हुनेछ।

यसअघि लामिछाने नख्खु कारागारमा राखिएका थिए।