काठमाडौं, पुस ६ – प्रधानमन्त्री सुशीला कार्कीले नेपाली समाजको मौलिक पहिचान जोगाउन परम्परा र संस्कृतिलाई आत्मसात् गर्नुपर्ने बताएकी छन् ।
उनले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक दिन कर्मचारीहरूले आफ्नो परम्परागत वेशभूषा लगाउने व्यवस्था गर्न सकिने विषयमा विचार गर्नुपर्ने धारणा राखिन् ।
तमु ह्युल छोँज धीँ गुरुङ राष्ट्रिय परिषद्को प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री कार्कीले आधुनिकताको नाममा मौलिकता बिर्सिँदै गएकोप्रति चिन्ता व्यक्त गरिन् । “कतिपय समुदाय आज आफ्नो पहिचान खोजिरहेका छन् । आफ्नै संस्कृति र परम्पराबाट टाढिँदै जाँदा पहिचान संकटमा पर्छ,” उनले भनिन्, “नेपाली समाजमा विविध संस्कृति र परम्परा छन्, जसलाई संरक्षण गर्नु आवश्यक छ।”
भेटमा परिषद्का प्रतिनिधिहरू गुरुङ समुदायको परम्परागत वेशभूषामा सहभागी भएका थिए । प्रधानमन्त्री कार्कीले उनीहरूको वेशभूषाको प्रशंसा गर्दै मौलिक पोशाकले पहिचान झल्काउने बताइन् ।
उनले संस्कृतिका नाममा रहेका हानिकारक प्रथाहरू हटाउँदै जानुपर्ने भए पनि मौलिक संस्कृति र वेशभूषालाई भने निरन्तरता दिनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा परिषद्ले आगामी पुस १५ गते आयोजना हुने तमु ल्होसार कार्यक्रमको प्रमुख अतिथिका रूपमा सहभागी हुन प्रधानमन्त्री कार्कीलाई निमन्त्रणा गरेको छ । परिषद्का महासचिव राजु गुरुङले औपचारिक रूपमा निम्तोपत्र वाचन गरेका थिए ।
