सिन्धुली, पुस ८ – सिन्धुलीको कमलामाई नगरपालिका–४ धुराबजारमा एक ३२ वर्षीया बुहारीलाई पेट्रोल छर्केर आगो लगाइ हत्या गरिएको घटनामा मृतककी सासू र नन्द पक्राउ परेका छन्।
स्थानीय दुर्गामान बम्जनको घरको भान्छा कोठामा पेट्रोल र मट्टितेल छर्केर आगो लगाउँदा बुहारी सुशीला बम्जन घटनास्थलमै जलेर मृत्यु भएकी हुन्। आगलागीमा दुर्गामान बम्जनको दाहिने हात, खुट्टा र ढाड जलेको छ र उनको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीले घटनास्थलबाट पेट्रोलको बोतल, लाइटर र बाँसको भाटा फेला पारेको छ। प्रारम्भिक सोधपुछमा नन्द मीना लामा (बम्जन) ले आगो लगाउने कार्य आफूले गरेको स्वीकार गरेकी छन्।
घटनाका कारण मृतकका बुबा प्रेमबहादुर घिसिङले सासू मायारानी बम्जन र नन्द मीना लामा विरुद्ध किटानी जाहेरी दर्ता गराएका छन्। प्रहरीले दुवै प्रतिवादीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान अघि बढाएको छ।
स्थानीयहरूले न्यायको माग गर्दै जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन्।
