काठमाडौं, पुष ११ – जेनजी घटनाको छानबिनका लागि गठन गरिएको सरकारले गठन गरेको जाँचबुझ आयोगका अध्यक्ष पूर्वन्यायाधीश गौरीबहादुर कार्कीलाई पदमुक्त गर्न माग गरिएको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। अदालतले आयोगका सदस्यहरूलाई पदमुक्त गर्न आवश्यक नपर्ने बताउँदै निर्देशनात्मक आदेश जारी गरेको छ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका घटनाको छानबिनका लागि सरकारले विशेष जाँचबुझ आयोग गठन गरेको थियो। उक्त आयोगको अध्यक्ष कार्की रहेका छन् भने सदस्यमा विज्ञानराज शर्मा र विश्वेश्वरप्रसाद भण्डारी रहेका छन्।
अधिवक्ता पिपिन ढकालले आयोगको औचित्य र निष्पक्षतामाथि प्रश्न उठाउँदै गत कात्तिक १८ गते रिट दायर गरेका थिए। उनले तीनै सदस्यलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।
सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा, नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शुक्रबार रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो।
