प्रहरी अपरेशनको विरोधमा माओवादीको कडा प्रतिकार


प्रहरी अपरेशनको विरोधमा माओवादीको कडा प्रतिकार
  • नवकिरण
  • पौष १२, २०८२

काठमाडौं, पुस १२ – अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको कम्युनमा प्रहरीले छापा मारेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले चारदिने देशव्यापी संघर्ष कार्यक्रम घोषणा गरेको छ।

शनिबार बसेको माओवादीको स्थायी समिति बैठकले पुस १२ देखि १५ गतेसम्म मशाल जुलुस, कोणसभा, विरोध प्रदर्शन तथा अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो। बैठकपछि निर्णय सार्वजनिक गर्दै पार्टी प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले प्रहरी हस्तक्षेपविरुद्ध संघर्ष अपरिहार्य भएको बताए।

उनका अनुसार शनिबार बेलुकी ६ बजे देशभर मशाल जुलुस निकालिनेछ। त्यसैगरी १३ पुस दिउँसो २ बजे कोणसभा, १४ पुस दिउँसो २ बजे विरोध प्रदर्शन र १५ पुस दिउँसो १ बजे काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिनेछ।

११ पुसमा सुरक्षाकर्मीको टोलीले अर्घाखाँचीको सितगङ्गा–११ मा रहेको माओवादीद्वारा सञ्चालन गरिएको कम्युनमा छापा मारेको थियो। उक्त छापामारीका क्रममा हतियार तथा विस्फोटक पदार्थ बरामद भएको प्रहरीको भनाइ छ।

तर माओवादीले भने उक्त कार्यलाई सरकारद्वारा गरिएको ‘स्वेत आतंक’को संज्ञा दिएको छ। सोही दिन जारी विज्ञप्तिमा प्रवक्ता प्रकाण्डले सरकारले एकातिर शान्तिपूर्ण राजनीतिक निकासको कुरा गर्ने र अर्कोतिर पार्टीका उत्पादन केन्द्र तथा सर्वसाधारणका घरमा छापा मारेर दमनको नीति अपनाएको आरोप लगाएका छन्।

माओवादीका अनुसार यस प्रकारको छापामारीले सरकारले शान्तिपूर्ण समाधान नचाहेको र देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको स्पष्ट संकेत दिएको छ।