काठमाडौँ, पुस १२ – अन्तरिम सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले नेपाली युवाको मुख्य चाहना सानो घर, एउटा सवारी साधन र शिक्षा तथा स्वास्थ्यमा सहज पहुँच भएको बताएका छन् । यी आधारभूत आवश्यकताहरू पूरा गर्न सके युवालाई देशमै रोक्न सकिने उनको भनाइ छ ।
शनिबार राजधानीमा आयोजित राष्ट्रिय घर निर्माण महोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री घिसिङले सरकारले न्यूनतम आवश्यकताका रूपमा घर, यातायात र शिक्षा–स्वास्थ्यको पहुँच सुनिश्चित गर्नुपर्ने बताए । त्यसका लागि सहुलियतपूर्ण ऋण र आवश्यक सुविधा उपलब्ध गराउने नीति आवश्यक रहेको उनले उल्लेख गरे ।
“नेपालमै बस भन्नु मात्रै पर्याप्त हुँदैन, बस्न सक्ने वातावरण बनाउनुपर्छ,” उनले भने, “रोजगारी, अवसर र आशा सिर्जना गर्न नसकिँदा युवा विदेशिन बाध्य छन् ।” युवाको सपना पूरा गर्न सक्ने वातावरण निर्माण गर्नु नै नेपालको आर्थिक रूपान्तरणको सुरुआती बिन्दु हुनुपर्ने उनको धारणा छ ।
आगामी सरकारले यस विषयलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताउँदै मन्त्री घिसिङले वर्तमान सरकार अल्पकालीन भएकाले धेरै अपेक्षा गर्न नहुने पनि स्पष्ट पारे । साथै, देशको तीव्र विकासका लागि विद्यमान ऐन–कानुनका जटिलता र प्रक्रियागत झन्झट हटाउनुपर्नेमा उनले जोड दिए ।
निर्माण क्षेत्रको क्षमता अभिवृद्धि नगरी द्रुत विकास सम्भव नहुने उल्लेख गर्दै मन्त्री घिसिङले नीति सुधार र संरचनागत परिवर्तन अपरिहार्य रहेको बताए ।
